चीनमा निर्मित लागु औषधीको बाढी रोक्न किन कठिन छ

औषधि
  • Author, ड्यानी भिन्सेन्ट
  • Role, बीबीसी न्यूज, हङ्‌कङ

एक दशकभन्दा बढी समयअघि उत्तरी चीनमा विश्वविद्यालय शिक्षा हासिल गर्नका निम्ति सिचुआन प्रान्तस्थित आफ्नो गाउँ छोड्नु सामीका लागि उनको जीवनकै महत्त्वपूर्ण मोड थियो।

अङ्ग्रेजी भाषा पढेकी उनी विश्वविद्यालय जाने आफ्नो परिवारकै प्रथम सदस्य थिइन्।

विदेशी भाषा सिक्ने उनमा उत्कट चाहना थियो र उनी पढेर शिक्षक बन्न चाहन्थिन्। यसअघि सिन्थेटिक ओपिओइड्स भनिने लागु पदार्थको बारे उनले सुनेकी थिइनन्।

अध्ययन पूरा भएपछि उनले शिजिआज्वाङ्ग शहरस्थित एउटा रसायनसम्बन्धी कम्पनीमा काम पाइन् जहाँ उनले आफूले रासायनिक पदार्थ भनेर ठानेको उत्पादन संसारभरिका ग्राहकलाई बेच्नु पर्थ्यो।

विक्री बापत कमिसन

लागु औषधी

ग्राहकसँग अङ्ग्रेजी बोल्ने भएपछि भाषाको अभ्यास हुन्थ्यो भने हरेक विक्री बापत उनले कमिसन पनि पाउँथिन्। शिक्षक बन्ने उनको सपना छिटै धुमिल भयो।

“शायद अरू पनि म जस्तै हुन्छन्…शुरूमा के बेच्न लागेको हो भन्ने कुरा हामीलाई थाहा हुन्न। काम गर्दै जाँदा धेरै पछि मात्र हामीलाई थाहा हुन्छ,” उनले भनिन्। “यो कामबाट पैसा आउँछ,” उनले थपिन्।

सामी [परिवर्तित नाम] सामान्यभन्दा भिन्न लागु औषधी तस्कर हुन्। अन्तर्राष्ट्रिय कानुन कार्यान्वयन गर्ने निकायहरूले अनुमान गरे अनुसार गैरकानुनी रूपमा चिनियाँ औषधी तथा रसायन कम्पनीका उत्पादनहरू विक्री गर्ने हजारौँ अनलाइन प्रतिनिधिमध्ये उनी एक हुन्।

अमेरिकी सरकारले चीनमाथि हेरोइनभन्दा ५० गुणा बढी कडा सिन्थेटिक ओपिओइनड फेन्टेनिल जस्ता घातक लागुऔषध आफ्नो देशमा पुर्‍याउँदै आएको आरोप लामो समयदेखि लगाउने गरेको छ। चीन त्यो आरोप अस्वीकार गर्छ।

चिनियाँ सरकारी अनुदान

चीनमा बन्ने ओपिओइडले आफ्नो मुलुकमा गम्भीर सङ्कट निम्त्याइरहेको अमेरिकी आरोप छ।

फेन्टेनिलको अत्यधिक सेवनका कारण सन् २०२२ मा ७० हजारभन्दा बढी अमेरिकीले ज्यान गुमाएका थिए।

कडा खालको ओपिओइड फेन्टेनिलको तस्करी र गलत प्रयोग अमेरिकाका लागि समस्या बनेको छ।

चिनियाँ कम्युनिस्ट पार्टीबारे गठित एउटा अमेरिकी संसदीय समितिको एक प्रतिवेदन अनुसार त्यस्ता प्रतिबन्धित सिन्थेटिक लागु पदार्थको खुला रूपमा तस्करी गर्दै आएका कम्पनीलाई चीन सरकारले अनुदान दिँदै आएको छ।

त्यस्ता अवैध औषधीका दशौँ हजार अनलाइन विज्ञापनहरू देखिएको प्रतिवेदनले औँल्याएको छ।

औषधि

“पूर्ण रूपमा सरकार नियन्त्रित” कम्पनीहरू ती औषधीको तस्करीमा संलग्न रहेको पाइएको पनि अध्ययनले दाबी गरेको छ।

चिनियाँ सरकारले अवैध औषधीहरूको कारोबारबारे जानकारी नरहेको निरन्तर बताउँदै आएको छ।

सामी जस्ता धेरै मानिस त्यस्ता औषधी र तिनका परिणामबारे थाहा नपाई त्यसको कारोबारमा फस्नेरहेछन्। तर अरू कतिपयलाई आफूले बेचिरहेका उत्पादनबारे थाहा हुन्छ।

हरेक बिहान सारा [वास्तविक नाम होइन] ती औषधीको विज्ञापन गर्ने तस्वीर र भिडिओहरू सामाजिक सञ्जालमा पोस्ट गर्छिन्।

“हाम्रा धेरै ग्राहक ब्रिटेनमा छन् र हामीले उनीहरूसँग धेरै पटक सहकार्य गर्नुपर्छ,” रमाउँदै साराले भनिन्।

अन्तर्राष्ट्रिय व्यापार विषय पढेकी उनी अहिले एउटा अनलाइन प्लेटफर्मका लागि काम गर्छिन्।

उनले विक्री गर्ने औषधीबारे चुनौती दिँदा उनी नैतिक बहसमा पर्दिनन्। आफूले बेच्ने गरेका औषधी ग्राहकले कसरी प्रयोग गर्छन् भन्नेबारे आफूले कहिल्यै नसोध्ने गरेको उनी बताउँछिन्।

सयौँ अनलाइन विज्ञापन

यूकेको न्याश्नल क्राइम एजेन्सी (एनसीए) का अनुसार लागु औषध विक्रेताहरूले सिन्थेटिक ओपिओइनडलाई हेरोइन जस्ता लागुऔषधसँग मिसाउने गर्छन्।

उसका अनुसार विगत नौ महिनामा यूकेमा निटाजीन भने लागु पदार्थसँग सम्बन्धित १०० भन्दा बढी मृत्युका घटना भएका छन्।

त्यसका कारण यूकेले स्वास्थ्यसम्बन्धी सङ्कटको सामना गर्नुपर्ने हुनसक्ने अग्रणी स्वास्थ्य व्यवसायीहरूले चेतावनी दिएका छन्।

निटाजीन सम्बन्धी सयौँ अनलाइन विज्ञापनहरू बीबीसीले फेला पारेको छ। सम्पर्क गरिएका आपूर्तिकर्ताहरूले कुरिअर सेवामार्फत्‌ उत्पादनहरू पठाउने गरिएको, डेलिभरीका सामानमा अर्कै लेबल राख्ने गरिएको र औषधी लुकाउन गलत प्याकेजिङ गर्ने गरिएको बताएका छन्।

चीनस्थित विक्री प्रतिनिधिले उपलब्ध गराएका कुरिअर ट्र्याकिङ नम्बरहरू बीबीसीले हेरेको छ। ती प्रतिनिधिले यूकेभरि सफलतापूर्वक डेलिभरीहरू गरेको दाबी गरे।

विश्वविद्यालय तहको अध्ययन पूरा गरेपछि सारा उक्त व्यवसायमा छिरेकी हुन्। उनलाई लाग्यो कि उनी विभिन्न रासायनिक पदार्थहरू बेचिरहेकी छन्।

परम्परागतलाई चुनौती

उनले सो क्षेत्रमा साढे दुई वर्ष काम गरेकी छन्। “मलाई अधिकांश उत्पादनबारे थाहा छ,” साराले भनिन्।

औषधी तथा अपराधसम्बन्धी राष्ट्रसङ्घीय कार्यालय (यूएनओडीसी) का अनुसार चीनमा ४० हजारदेखि एक लाखको बीचमा औषधि उत्पादक कम्पनीहरू छन्।

“चीन एशियामा उल्लेख्य औषधी उत्पादक कम्पनी भएका देशमध्ये एउटा हो र ठूला रसायन कम्पनीहरू भएकामध्ये पनि एक हो। हामीले यो क्षेत्रका अरू देशमा पनि औषधी उद्योगको विकास देखेका छौँ,” यूएनओडीसीका तात्कालीन क्षेत्रीय प्रतिनिधि जेरेमी डग्लसले सन् २०२३ को अन्त्यतिर भने।

डग्लसका अनुसार सिन्थेटिक ड्रगहरूले परम्परागत औषधी व्यापारमा अवरोध पुर्‍याइरहेका छन्।

चीनबाहिर त्यस्ता औषधी उत्पादकले परम्पारगत आपराधिक सङ्गठन र नयाँ आएका आपूर्तिकर्ता दुवैलाई अवसर दिएका छन् जसले सीधै उत्पादकबाट खरिद गर्न सक्छन्।

“फेन्टेनिल जस्ता सिन्थेटिकहरूका परम्परागत लागु औषधीहरूको तुलनामा कैयौँ फाइदा छन्। ती साना, ओसारपसारका लागि सजिलो, पहिल्यैदेखि माग भइरहने र बदल्न सकिने हुन्छन्। तस्करहरूले त्यसलाई मन पराउँछन्।”

औषधि

चिनियाँ औषधी उत्पादन कम्पनीहरूका लागि विक्रीको काम गर्ने मानिसहरूसँग मैले गरेको कुराकानीका क्रममा यसको पुष्टि भएको हो।

“पहिलो कुरा हाम्रो प्याकेजिङ गोप्य हुन्छ। त्यो नखोलेसम्म भित्र के छ भन्ने कुरा तपाईँलाई थाहा हुन्न। दोस्रो कुरा हामी प्याकेजको नाम फेर्छौँ र उत्पादनबारे खुलाउने कुनै नाम राख्दैनौँ,” साराले भनिन्।

युरोपेली प्रहरी निकाय युरोपोलका अनुसार चीन सिन्थेटिक, प्रयोगशालामा निर्मित लागु औषधीको विश्वकै सबैभन्दा ठूलो उत्पादक तथा वितरक हो।

केहीको असर गाँजा अथवा कोकेनको जस्तै हुन्छ। केही रसायनशास्त्रीहरूले कानुन छल्न नयाँनयाँ लागु औषधी बनाउँछन्।

“आपराधिक उद्यम भए पनि यो काम वैधानिक परिधिभित्र बसेर गरिएको हुन्छ,” जोर्ज मेसन विश्वविद्यालयस्थित आतङ्कवाद, अन्तरदेशीय अपराध तथा भ्रष्टाचारसम्बन्धी विषयकी निर्देशक तथा डार्क कमर्स पुस्तककी लेखक लुइज शेली भन्छिन्।

ईकमर्सको अर्को पाटो

बीबीसीले सम्पर्क गरेका त्यस्ता लागु औषधीका विक्रेताहरू उक्त कारोबारलाई ईकमर्सको अर्को पाटोको रूपमा हेर्छन्।

ती लागु औषधीले मानिसको जीवन नष्ट गरिदिएको भन्ने कुरा गर्दा एक विक्रेताले आफूलाई “बिचौलिया” भनेर चिनाइन्।

“कसैलाई त्यो चाहिन्छ, कसैले त्यसको उत्पादन गर्छ। म चाहिँ बस् बिचौलिया हुँ जसले क्रेतालाई चाहिएको सामान आफूसँग छ भनेर जानकारी गराउँछ। बाँकी उनीहरूले के गर्छन् मलाई मतलब भएन। मलाई लाग्यो मैले पैसा कमाउनुपर्छ। सबैका आआफ्नो आवश्यकता हुन्छ।,”

अर्की विक्रेताले भनिन्, “यो उद्योग सहज छ र तपाईँ ठूलो रकम पाउनुहुन्छ। त्यसले थुप्रै युवालाई आकर्षित गर्छ।” नाताली [परिवर्तित नाम] फेन्टेनिल विक्रीमा केन्द्रित छिन्।

यसैबीच अर्का एक आपूर्तिकर्ताले यूकेमा कुकुरका खानेकुरामा लुकाएर त्यस्ता औषधी तस्करी गरेको दाबी गरे।

“प्याकेजिङबारे तपाईँले चिन्ता लिनै पर्दैन। हामी सुरक्षित डेलिभरीको सुनिश्चितता गर्छौँ।”

सन् २०१९ मा चिनियाँ सरकारले फेन्टेनिल र त्यस्ता सबै औषधीमा प्रतिबन्ध लगाएको थियो।

सन् २०२४ को ज्यानुअरीमा चीन र अमेरिकाले सिन्थेटिक ओपिओइड फेन्टेनिलको उत्पादनविरुद्ध संयुक्त कारबाही शुरू गरेका छन्।

“संसारका केही हिस्सामा माग उच्च भइरहँदा कुनै न कुनै रूपमा त्यसको आपूर्ति भइरहनेछ,” डग्लसले भने।

मयगनबीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।