कफीः तितो स्वाद भएको यो पेय पदार्थ कसरी मान्छेको प्यारो बन्यो

कफीका दानामाथि एक कप कफी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पन्ध्र शताब्दीभन्दा लामो समयदेखि कफीले मानव जातिको जीवनमा महत्त्वपूर्ण स्थान पाएको छ।

न्यूयोर्क सिटीका व्यस्त सडकदेखि इथिओपिआका शान्त पहाडसम्म कफी लाखौँ मानिसहरूको दैनिक जीवनको अभिन्न अङ्गजस्तै बनिसकेको छ।

पन्ध्र शताब्दीभन्दा लामो समयदेखि कफीले मानव जातिको जीवनमा महत्त्वपूर्ण स्थान पाएको छ।

केही मानिसहरू त १७औँ र १८औँ शताब्दीमा आधुनिक विश्वको बौद्धिक र सांस्कृतिक जग बसाल्नमा यसको भूमिका रहेको बताउँछन्।

त्यस समयमा आधुनिक विश्वका धेरैजसो बौद्धिक र सांस्कृतिक विचार स्थापित भएको ठानिन्छ।

कफीको मुख्य तत्त्व क्याफिन हो जुन अहिले व्यापक रूपमा उपयोग हुने मनोत्तेजक अर्थात् मन चनाखो गराउने तत्त्वका रूपमा प्रयोग हुन्छ। त्यस्तो तत्त्वले हामी कसरी सोच्छौँ र अनुभव गर्छौँ भन्ने कुरामा प्रभाव पार्छ।

कफी कहाँबाट आयो?

कफी इथिओपियाको रैथाने कफिया अरबीका वनस्पतिको फलबाट आउँछ।

९० प्रतिशतभन्दा धेरै मात्रामा कफी उत्पादन विकासोन्मुख देशमा हुन्छ। मुख्यतः दक्षिण अमेरिकामा त्यो पाइने भए तापनि भियतनाम र इन्डोनेशियामा समेत उल्लेख्य रूपमा उत्पादन हुने पाइन्छ।

तर त्यसको खपत भने व्यापक रूपमा औद्योगिक देशहरूमा हुने गरेको छ।

नवौँ शताब्दीमा एकजना काल्दी नाम गरेका बाख्रा गोठालाले कफीका दाना खान थालेपछि आफ्ना बाख्रामा शक्ति बढेको आभाष पाए। त्यो देखेर उनी स्वयंले त्यसलाई चाख्न पाए।

त्यसयता त्यहाँका मानिसहरूले त्यस्ता दाना खान वा ती वनस्पतिको पातबाट चिया बनाउने गर्न थाले।

ऐतिहासिक विवरणहरूका अनुसार यमनका सुफीहरू कफीका दाना भुट्ने सुरुवाती मानिसहरू मानिन्छन्।

१४औँ शताब्दीमा उनीहरूले आजकल हामीले पिउनेजस्तो पेय बनाएका थिए।

१५औँ शताब्दीसम्ममा अटोमन साम्राज्यभर कफी हाउसहरू देखा परेका थिए।

पछि ती युरोपसम्म फैलिए र त्यहाँ व्यापार, राजनीति र नवीन विचारका केन्द्रका रूपमा देखा पर्न थाले।

कफी इथिओपियाको रैथाने कफिया अरबीका वनस्पतिको फलबाट आउँछ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कफी इथिओपियाको रैथाने कफिया अरबीका वनस्पतिको फलबाट आउँछ।

२०औँ शताब्दीका एकजना प्रबुद्ध जर्मन दार्शनिक तथा समाजशास्त्री योर्गन हाबरमासले कफीको प्रभावबिना 'द इन्लाइटनमेन्ट' भनिने १७औँ र १८औँ शताब्दीमा युरोपमा भएको ज्ञानको तीव्र विकास सम्भव हुने थिएन भन्ने तर्क गरेका छन्।

हाबरमासका अनुसार १७औँ र १८औँ शताब्दीमा कफी हाउसहरू "आलोचनाका केन्द्रहरू"का रूपमा बन्दै त्यहाँबाट सार्वजनिक धारणा र विचारहरू उत्पन्न हुन थाले।

ज्ञानको विकास गर्ने व्यक्तित्वहरू यस पेयका पारखी रहेको ठानिन्छ।

फ्रेन्च दार्शनिक भोल्तेअरले एक दिनमा ७२ कपसम्म कफी पिउँथे। जबकि फ्रान्सकै डिडेरोले कफीकै भरमा रहेर २८ भागको "इन्साइक्लोपेडिया" तयार पारे।

अमेरिकी लेखक माइकल पोलनका अनुसार डिडेरोको उक्त कामलाई इनलाइटनमेन्ट कालखण्डको एउटा प्रधान कामका रूपमा हेरिन्छ।

फ्रेन्च दार्शनिक भोल्तेअरले एक दिनमा ७२ कपसम्म कफी पिउँथे।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फ्रेन्च दार्शनिक भोल्तेअरले एक दिनमा ७२ कपसम्म कफी पिउँथे।

अमेरिकाको भान्टरबिल्ट यूनिभर्सिटीको इन्स्टिच्युट फर कफी स्टडिजका मानवशास्त्रका प्राध्यापक टेड फिसरका अनुसार पुँजीवादको विकासमा समेत कफीले महत्त्वपूर्ण भूमिका खेलेको छ।

उनले बीबीसीलाई भने: "कफीले इतिहासको बाटो मोड्यो र ज्ञान विकास (इनलाइटनमेन्ट) तथा पुँजीवादतर्फ ढल्काउनेगरी विचार निर्माणलाई प्रोत्साहन गर्‍यो।"

"म यो कुनै दुर्घटनावश भएजस्तो पनि देख्दिनँ। लोकतन्त्र, तर्क, अनुभववाद, विज्ञान र पुँजीवादका विचार विस्तार त्यतिखेर भए जब कफीको खपत लोकप्रिय बनेको थियो। धारणा विकास र एकाग्रताको विस्तार गर्ने यस तत्त्व वास्तवमै पुँजीवादतर्फ लैजाने परिवेशको एउटा हिस्सा थियो।"

त्यसबेला व्यापारीहरूले कफी उत्पादकत्व बढाउनका लागि प्रयोग हुनसक्ने कुरा बुझे।

फिसरका अनुसार उनीहरूले आफ्ना कर्मचारीहरूलाई कफी दिन थालेर अन्ततः कफी ब्रेकको चलन चल्यो।

कफीको अँध्यारो पाटो

कफी इतिहासको अँध्यारो पाटो नै नभएको होइन। दासहरूको शोषणमा समेत यसको भूमिका देखिन्छ।

फ्रेन्चहरूले अफ्रिकाका दासहरूलाई हेइटीमा यसको खेती गर्नमा लगाए।

सन् १८०० को सुरुवाती समय सम्ममा अफ्रिकी दासहरूको प्रयोग गरेर ब्रजिलले विश्वको एक तिहाइ कफी उत्पादन गर्थ्यो।

हाल कफी विश्वव्यापी संस्कृतिको एउटा आधारशिलाजस्तो देखिन्छ। संसारमा यो पेय दैनिक २ अर्ब कपभन्दा बढ्ता खपत हुन्छ र कफी उद्योगले वार्षिक ९० अर्ब अमेरिकी डलरभन्दा बढीको योगदान गर्छ।

त्यसो हुँदा हुँदै समेत ६०० वर्षमा "निकै कम कुरा फेरिएको" गरिबी र भोकमरी निर्मुलनमा विश्वव्यापी रूपमा काम गर्ने गैरसरकारी संस्था हेफर इन्टरन्याश्नलले जनाएको छ।

उक्त संस्थाका अनुसार कफी उद्योगका मेरुदण्डका रूपमा अश्वेत मानिसहरू रहेका छन् र उनीहरूले थोरै फाइदामा काम गरेका छन्।

५० देशहरूभरि साढे १२ करोड मानिसहरू जीवनयापनका लागि कफीमा निर्भर छन्। तीमध्ये आधाभन्दा बढ्ता गरिबीमा बाँचिरहेका छन्।

कफीले शरीरमा कस्तो प्रभाव पर्छ?

क्याफिन शरीरमा परेपछि पाचन प्रणालीमा प्रवेश गर्छ र आन्द्रामार्फत् रक्तनलीले सोस्छ।

यद्यपि, स्नायु प्रणालीमा पुगेपछि मात्र त्यसको असर देखा पर्न थाल्छ। रासायनिक रूपमा क्याफिन हाम्रो शरीरमा स्वतः उत्पादन हुने तत्त्व एडिनोसिनसँग मिल्छ।

एडिनोसिनले सामान्यतः स्नायु प्रणालीलाई सुस्त बनाउँछ र मुटुको चाल कमजोर बनाउँदै झुम्म र आनन्दित बनाउँछ।

क्याफिन तत्त्व स्नायु कोषहरूको सतहमा हुने एडिनोसिन रिसेप्टरहरूमा गएर यसरी टाँसिन्छन् जसरी ताल्चामा साँचो जोडिन्छ। तर ती रिसेप्टरमा क्याफिन टाँसिएपछि परिणाम भने विपरीत देखा पर्छ।

यसले रक्तचाप हल्का वृद्धि गर्छ, दिमागी गतिविधिलाई सक्रिय बनाउँछ, भोको महसुस हुने क्रम घटाउँछ र सजगतामा वृद्धि गर्छ। जसले गर्दा लामो समयसम्म एकाग्रता कायम रहन्छ।

दैनिक चार वा पाँच कप कफी पिउनु मानव शरीरका लागि स्वस्थ्यकर मानिन्छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दैनिक चार वा पाँच कप कफी पिउनु मानव शरीरका लागि स्वस्थ्यकर मानिन्छ

क्याफिनको प्रभाव मनस्थितिलाई राम्रो बनाउन, थकान घटाउन र शारीरिक तन्दुरुस्ती बढाउनमा समेत पाइन्छ।

बेलाबखत खेलाडीहरूले यसलाई सप्लिमेन्टका रूपमा समेत प्रयोग गर्छन्।

त्यसको असर १५ मिनेटदेखि दुई घण्टासम्म कायम रहन्छ।

हाम्रो शरीरले पाँचदेखि १० घण्टाबीचमा क्याफिनलाई शरीरबाट हटाउने भए तापनि त्यसको प्रभाव लामो समयसम्म रहन्छ।

विज्ञहरूका अनुसार क्याफिनको लाभ अधिकतम लिनका लागि त्यसलाई मध्यम मात्रामा लिन र मध्यान्नमा नपिउन सुझाउँछन्।

मध्यान्नमा नपिउँदा अर्को दिन बिहान पिउने कफी बढी असरदार हुने उनीहरू बताउँछन्।

निर्देशिकाहरूका अनुसार स्वस्थ्य वयस्कका लागि दैनिक ४०० मिलिग्रामको सीमा राम्रो मानिन्छ। जुन चार वा पाँच कप कफी पिए बराबर हुन्छ।

प्रभाव व्यक्तिपिच्छे भिन्नभिन्न भए तापनि उक्त सीमाभन्दा बढ्ता कफी पिउँदा अनिन्द्रा, तनाव, मुटुको धड्कन बढ्ने, वाकवाकी र टाउको दुखाइजस्ता समस्या देखा पर्छन्।

अमेरिकाको खाद्य तथा औषधि प्रशासनले दिएको चेतावनीमा १,२०० मिलिग्राम अर्थात् झण्डै १२ कप कफी छोटो समयभित्र पिउँदा सिजर (काम छुट्ने) जस्ता विषाक्त असरहरू देखा पर्ने जनाइएको छ।

यद्यपि सन्तुलित रूपमा पिउँदा स्वास्थ्यमा कफीका सम्भावित लाभहरू हुने ठानिन्छ।

हार्वर्ड टि.एच. चान स्कुल अफ पब्लिक हेल्थका डा माटिअस हेनका अनुसार त्यसो गर्दा कैयौँ रोग र मृत्युको जोखिम कम हुन सक्छ।

उनले बीबीसीसँग भने: "दैनिक दुईदेखि पाँच कप पिउँदा मृत्युको जोखिम कम गर्ने र मधुमेह, मुटु तथा रक्तनली सम्बन्धी रोग र केही प्रकारका क्यान्सरको जोखिम घटाउँछ।"

अर्को पटक कफी पिउँदा तपाईँले यसको विकास क्रमको इतिहास स्मरण गर्नु होला।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।